गीता त्रिपाठी

गीता त्रिपाठी (अङरेजी: Geeta Tripathee, जन्म: विक्रम सम्बत् २०२९ असार १५, तदनुसार सन् १९७२, जुन २८) नेपाली कवि तथा गीतकार हुन्। नेपाली साहित्यमा स्पष्ट पहिचान सहित सिर्जनारत त्रिपाठीका कविता, गीत तथा समालोचनाका एक दर्जन पुस्तक प्रकाशित रहेका छन्। पद्मकन्या स्वर्ण पदक तथा सर्वोत्कृष्ट गीतकार पुरस्कारलगायत विभिन्न पुरस्कार तथा सम्मानाट विभूषित त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधी गरेकी छन्।[2][5][6]

गीता त्रिपाठी
कवि तथा गीतकार गीता त्रिपाठी
जन्मगीता थपलिया
(1972-06-28) June 28, 1972
खरेलथोक, काभ्रेपलाञ्चोक
वासस्थानभक्त मार्ग, बालुवाटर, काठमाण्डौं
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
शिक्षाविद्यावारिधि (नेपाली साहित्य)
अल्मा मेटरत्रिभुवन विश्वविद्यालय
पेशालेखन, अध्यापन
संस्थानत्रिभुवन विश्वविद्यालय,
नेपाल प्रज्ञाप्रतिष्ठान[1]
चिनारीको कारणकविता, कथा, निबन्ध, समालोचना
प्रशिद्ध कार्यनृशंस पर्खालहरू,
सिमलको गीत,
म एक्लो र उदास उस्तै
गृहनगरकाठमाण्डौं
जिवनसाथीयादव त्रिपाठी[2]
सन्तानसमीप[2]
मातापितावेदराज थपलिया,
रमादेवी थपलिया[3]
पुरस्कारसर्वोत्कृष्ट गीतकार पुरस्कार - २०६४,
पद्मकन्या स्वर्णपदक - २०५७[2][4]

प्रारम्भिक जीवन

गीता त्रिपाठीको जन्म वि.सं.२०२९ साल असार १५ गते बरबन्दी, खरेलथोक, काभ्रेपलाञ्चोक जिल्लामा भएको हो। पिता वेदराज थपलिया तथा माता रमादेवी थपलियाका कोखबाट काइँली सुपुत्रीका रूपमा गीता थपलियाको जन्म भएको हो। उचित लालनपालन, शैक्षिक वातावरण र जन्मस्थानको सुन्दर प्राकृतिक परिवेश पाएकी गीता सानै उमेरदेखि नै अध्ययन र सिर्जनात्मक लेखनमा सक्रिय भइन्। उनको बाल्यकालीन जीवन नेपाली पहाडी जीवनशैली अनुसार गाउँ र बेँसी दुवैको अनुभव बटुल्दै बित्यो। [2][4]

शिक्षा

गीता त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा विद्यावारिधी गरेकी छन् । उनले तीन वर्षको उमेरमा आफ्ना पिताबाट अक्षरारम्भ गरिन् । उनको औपचारिक शिक्षा भने पाँच वर्षको उमेरदेखि आरम्भ भयो। उनले श्री भगवती माध्यमिक विद्यालय, जोगीथुम्का, खरेलथोकबाट २०४५ सालमा १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरी काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट २०५७ सालमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरिन् । यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट एमफिल तथा विद्यावारिधि गरिन् । [2][3]

पेशागत संलग्नता तथा कार्य जीवन

गीता त्रिपाठीले सहायक प्राध्यापकका रूपमा ब्रिटिस गोर्खा कलेज बाँसबारी, काठमाडौँबाट सन् २००० देखि सुरु गरिन् र यस कलेजमा उनी सन् २०१६ सम्म संलग्न रहिन्। उनले सन् २००३बाट सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीमा प्राध्यापन सुरु गरी सन् २०१९ सम्म निरन्तरता दिइन्। उनले साउथवेस्टर्न स्टेट कलेज बसुन्धरा, काठमाडौँमा सन् २०११ देखि सन् २०१७ सम्म प्राध्यापन गरिन्। हाल उनी त्रिभुवन विश्वविद्यालय, रत्न राज्यलक्ष्मी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत छिन्।[2][4]

कवि गीता त्रिपाठी भारतको नयाँ दिल्लीमा आयोजित दक्षिण एसियाली साहित्य महोत्सव - २०१७ मा आफ्ना कविता वाचन गर्दै

साहित्यिक यात्रा

गीता त्रिपाठी सानै उमेरदेखि साहित्य सिर्जनामा रुचि राख्थिन्। उनको साहित्य यात्राको औपचारिक आरम्भ भने २०४५ सालमा विरुवा त्रैमासिकमा गीता थपलियाका नामबाट प्रकाशित स्वच्छता शीर्षकको गीति कविताबाट भएको हो। स्कुल जीवनदेखि नै कविता रचना र सुन्दर वाचन कलाले गर्दा विभिन्न प्रतियोगितामा पुरस्कृत भएकी गीताको साहित्य सिर्जनाले पद्मकन्या कलेजमा स्नातकोत्तर तहमा नेपाली साहित्यको विशिष्ट अध्ययन गर्दा पाएको साहित्यिक परिवेशबाट खारिने अवसर पायो। यस अवधिमा उनले क्याम्पस स्तरीय कविता र निबन्ध प्रतियोगितामा सहभागी हुँदै पुरस्कार र सम्मानहरू प्राप्त गरिन्। उनको पहिलो पुस्तकका रूपमा गीत सङ्ग्रह थुङ्गा : वनफूलका(२०६१) प्रकाशित भयो। यही साल उनी द्वारा रचित नौ वटा गीतहरूको एलबम एक्लै...एक्लै रेकर्ड भई श्रोतामाझ आयो। त्यसयता उनको साहित्य सिर्जनाका विविध विधागत योगदान फैलिँदै गएका छन्। उनका गीत, कविता, निबन्ध तथा समालोचना विधाका गरी एक दर्जन कृति प्रकाशित भएका छन्। उनको दोस्रो गीति एलबम सारांश (२०६५) सालमा रेकर्ड भई श्रोतामाझ लोकप्रिय भएको छ। उनका कविताहरू जापान, कोरिया, भारत र अमेरिकाका विभिन्न पुस्तक तथा पत्रिकाहरूमा तिनै देशका भाषामा अनुवाद समेत भई प्रकाशित भएका छन्। गीता त्रिपाठीको लामो काव्य यात्रामा उनका केही कथाहरू पनि प्रकाशित भएका छन्। उनले अनुवाद गरेका केही भारतीय कविहरू कुँवर नारायण, गुलजार लगायतका कविता-कथा विभिन्न पत्रिकामा प्रकाशित भएका छन्। गीताका तीन दर्जनभन्दा बढी गीतहरू सङ्गीतबद्ध भई रेकर्ड भएका छन्। गीताका कविताका सन्दर्भमा प्राध्यापक डाक्टर अभि सुवेदीले राखेका दृष्टिकोणबाट गीता त्रिपाठीको काव्यिक क्षमता मुखरित भएको छ।[7][8][9][10][11]

लेखनशैली

गीता त्रिपाठीले विभिन्न विधामा कलम चलाए पनि मूलतः उनी कवि हुन्। उनका मुक्त लयका कवितामा कवित्व शक्ति प्रबल रहेको छ। त्यसैले उनका निबन्ध र आख्यान लेखनमा कवितात्मक भाषाको मिठास पाइन्छ। जीवनका विविध पक्षहरूको बिम्वात्मक प्रस्तुतिमा सफल कवि त्रिपाठीको कविता शिल्पगत हिसाबले व्यञ्जनाधर्मी छ। सरल र सहज काव्यगुण भएका उनका कविताहरू बौद्धिक भएर पनि सरल छन् भने सरल भएर पनि बौद्धिक छन्। भावको प्रबलताले उनका कवितालाई संवेदनाको गहिराइमा पुर्‍याएको पाइन्छ। उनका कविताले जीवन र मृत्युका व्यक्तिगत, सामाजिक र सांस्कृतिक पक्षमाथि मौलिक दृष्टिकोण हुँदै विश्वदृष्टिको अभिव्यञ्जना गरेको छ। यसरी नै त्रिपाठी गीत रचनामा पनि अब्बल मानिन्छिन्। उनका गीतमा प्रेम, प्रकृति, वात्सल्य र जीवनका सूक्ष्म संवेदना प्रकट भएको पाइन्छ। साङ्गीतिक पक्ष सचेततापूर्वक बहन गरिएका उनका गीतहरू गायनका निम्ति अनुकूल रहेका छन्। उनका तीन दर्जनभन्दा बढी गीतहरू लोकआधुनिक शैलीमा गाइएका छन्। गीताका निबन्धहरू पाठकमाझ निकै रुचाइएका छन्। उनका निबन्धमा निजात्मक अनुभूतिलाई निर्वैयक्तिक बनाउने सामर्थ्य रहेको छ। गीताले चिन्तनप्रधान विशुद्ध, संस्मरणात्मक, व्यक्तिवृत्त र यात्रानुभूति जस्ता निबन्धहरू लेख्दै आएकी छन्। युग चेतनाको संवाहक उनका निबन्धमा समकालीन परिवेश र त्यसमाथि भइरहेका सामाजिक, राजनीतिक, सांस्कृतिक विसङ्गतिप्रति विद्रोह र प्रतिरोधी विचारोत्तेजक स्वर समेत प्रकट भएका छन्। उनका यात्रा निबन्धले यात्रारत स्थान र पात्रगत सन्दर्भलाई निकै अनुभूतिशील भएर प्रस्तुत गरेका छन्। गीताका आधा दर्जन कथाहरू फुटकर रूपमा प्रकाशित भएका छन्। उनका प्रायः कथामा प्रथम पुरुष दृष्टिकोणको प्रयोग गरिएको छ। उनका कथामा नारी समस्या र मनोविज्ञानको प्रयोग भएको बताइन्छ।[2][3][7]

संस्थागत संलग्नता

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य, गीता त्रिपाठी नेपाली नारी साहित्यकारहरूको संस्था गुञ्जन (२०५४) का कार्यकारी सदस्य (वि.सं. २०६६ देखि) हुन्। यसरी नै उनी छिन्नलता गीत पुरस्कार गुठीकी कार्यकारी सदस्य हुन्।[1]

व्यक्तिगत जीवन

उनको विवाह २०४६ साल वैशाख २० गते यादवराज त्रिपाठीसित सम्पन्न भयो। कानून विषय अध्ययन गरेका यादवराज त्रिपाठी उद्योग व्यवसायी तथा समाजसेवी हुन्। त्रिपाठी दम्पत्तिका एक सन्तान, समीप छन्।[2]

मुख्य कृतिहरू

  • सिमलको गीत
  • गीत सङ्ग्रह ‘थुँगाःवनफूलका’ (२०६१)
  • गीति एल्बम ‘एक्लै...एक्लै’ (२०६१)
  • गीति–कविता सङ्ग्रह ‘दुई हरफ ओठहरू’ (२०६४, संयुक्त)
  • कविता सङ्ग्रह ‘नृशंस पर्खालहरू’ (२०६५)
  • गीति एल्बम ‘सारांश’ (२०६५)
  • समालोचना ‘दृष्टिविचरण’ (२०६६)
  • समालोचना ‘कृति विश्लेषण - प्रायोगिक आयाम’ (२०६७)
  • निबन्ध सङ्ग्रह ‘म एक्लो र उदास उस्तै’ (२०७०)[4]

सम्पादन

  • ‘आँसु’ खण्डकाव्य, रचनाः कुलचन्द्र कोइराला (२०५६)
  • द रेज् (२०६०)
  • बि.जि.सि.भ्वाइस(२०६२,२०६४,२०६५,२०६६,२०६७)
  • जनमत कविता भाग १ र भाग २ (२०६४)[4]

पुरस्कार/मान-सम्मान/पदक

  • पद्मकन्या स्वर्णपदक (२०५७)
  • तीर्थप्रसाद ढुंगाना स्मृति पुरस्कार (२०५७)
  • नानु न्यौपाने स्मृति पुरस्कार (२०५७)
  • प्रेमचन्द्र–देवकुमारी पुरस्कार (२०५७)
  • सर्वोत्कृष्ट गीतकार पुरस्कार - २०६४, (सांस्कृतिक संस्थान)
  • सूचक पद्मादेवी युवा प्रतिभा पुरस्कार - २०६८, (समालोचना विधाका लागि)
  • भानुभक्त निबन्ध पुरस्कार- २०७१, (नेपाल सरकार) [4]

सन्दर्भ सामग्रीअन

  1. -, सौर्य अनलाइन (२०७५-पुष-३). "प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता". https://www.souryaonline.com. Retrieved 2020-04-10. Check date values in: |date= (help); External link in |website= (help)CS1 maint: numeric names: authors list (link)
  2. खनाल, सुनीता (2019-02-16). "कहाँ हुन्छ मिलन त्यसै भाग्यमै नलेखेपछि". nayapatrikadaily.com. Retrieved 2020-04-10.
  3. कोइराला, कुमारप्रसाद (वि.सं. २०७५). प्रा.डा. कुमारप्रसाद कोइराला (ed.). "प्रज्ञा नेपाली समालोचक कोश". नेपाल प्रज्ञा प्रतिष्ठान ISBN 978-9937-723-09-1. pp. ८४. Check date values in: |date= (help); Missing or empty |url= (help); |chapter= ignored (help)
  4. पोखरेल, माधवप्रसाद. प्रा.डा. माधवप्रसाद पोखरेल (ed.). "जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास". http://jnsbi.org.np. Retrieved 2020-04-10. External link in |website= (help); |chapter= ignored (help)
  5. त्रिपाठी, गीता (२०६५). "नृशंस पर्खालहरू". गीता त्रिपाठी, ISBN ९७८-९९३७-२-०५७९-९. Check date values in: |date= (help); Missing or empty |url= (help)
  6. त्रिपाठी, गीता (२०६५). "कृति विश्लेषण: प्रायोगिक आयाम". रत्न पुस्तक भण्डार ISBN ९७८-९९९३३-८८३--६. Check date values in: |date= (help); Missing or empty |url= (help)
  7. लीला लुइँटेल (२०६९). "नेपाली कवितामा महिला लेखन". नेपाली महिला साहित्यकार. काठमान्डु: शब्दार्थ प्रकाशन. p. ७६. Check date values in: |date= (help)
  8. "गीता त्रिपाठी". फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर. Archived from the original on 2021-11-29. Retrieved 2020-04-17.
  9. त्रिपाठी, गीता. कल्पना सिँह-चिटनिस (ed.). "Geeta Tripathee: Translated by Mahesh Paudyal". Translated by महेश पौड्याल. लाइफ एण्ड लिजेन्ड्स. Retrieved 2020-04-09.
  10. Tripathee, Geeta (1 March 2015), Daine Smith (ed.), translated by Bindesh Dhakal, "Mid-Life Thoughts", Snow Jowel, USA: Grey Sparrow Press (6): 13, ISSN 2157-3646
  11. के. सच्चिदानन्दन तथा अजीत कौर, ed. (2011). "द सङ् वी शेयर". फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर, ISBN 8188703214. pp. ३२, २१६, २४४. Missing or empty |url= (help)

बाह्य कडीहरू

This article is issued from Wikipedia. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.